चन्द्रागिरिका बाल गायक प्रसुनजंग पोखरेललाई जर्जियामा वर्ल्ड राइजिङ स्टारको उपाधि, राष्ट्रपतिद्वारा सम्मानित

चन्द्रागिरि ।

युरोपेली मुलुक जर्जीयाको राजधानी तिबिलिसीमा सम्पन्न वर्ल्ड राइजिङ स्टार-२०२३ शीर्षकको प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाका बालगायक प्रसुनजंग पोखरेल विजयी भएका छन् ।

उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व जनाएका पोखरेलले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् ।

उक्त प्रतियोगितामा विजयी भएर स्वदेश फर्किएका पोखरेललाई शनिबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा नेपालको नाम चिनाउने काम गरेकोमा बधाई ज्ञापन गर्दै शुभकामनासहित अवार्ड हस्तान्तरण गरिन् ।

कार्यक्रममा ब्राइट फ्युचर सेकेण्डरी स्कूलका सिईओ मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा तथा परिवर्तन इभेन्ट हाउस निर्देशक राज बराइलीको सहभागिता रहेको थियो ।

थाइल्यान्डमा आयोजित टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्स अप भएका पोखरेल नैकापस्थित ब्राइट फ्यूचर सेकेण्डरी स्कूलमा कक्षा ९ मा अध्ययनरत छन् ।

प्रसुन डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनय सम्बन्धी प्रतिस्पर्धा डी एस ए स्टार २०१९ मा विजेता भएपछि नेपालको प्रतिनिधित्व गर्दै पोखरेल जर्जिजा पुगेका थिए । त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गरेका थिए ।