चन्द्रागिरि बस्ने २६ वर्षीय सुमन कार्की साेल्टीमाेडमा मृत भेटिए

काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लान्स-नायक मृत फेला परेका छन्।

शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३  सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लान्स-नायक मृत फेला परेका हुन्।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भई गणेश दल गण जंगी अड्डा भन्द्रकालीमा दरबन्दी भएका लान्स-नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सडकपेटीमा एक जना मानिस लडिरहेको भन्ने खबर प्रहरीले पाएको थियो।

उक्त खबरको आधारमा घटनास्थलमा प्रहरी वृत्त कालिमाटीबाट डिएसपीको कमान्डमा टोली खटिएर अनुसन्धान अघि बढाइएको थियो। मृतकको शरीरमा सेनाको परिचयपत्र फेला परेको थियो।

मुचुल्का गरी शव पोस्टमर्टमको लागि अस्पताल पठाउने तयारी भइरहेको छ। मृत्युको कारण नखुलेको एसपी ढुंगेलले बताए।

घटनास्थलमा नेपाली सेनाका मेजरको टोली पनि पुगेको छ।