पाँच महिनामा दस अर्बको विद्युत् निर्यात

काठमाडौं, मंसिर ३ । नेपाल विद्युत् प्राधिकरणले साढे पाँच महिनाको अवधिमा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ।

गत जेठ १९ गतेदेखि विद्युत् निर्यात गर्न थालेको प्राधिकरणले कात्तिकसम्ममा एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् निर्यात गरी उक्त रकम आर्जन गरेको हो। भारतीय मुद्रामा कारोबार हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ४९ करोड ३५ लाख भारतीय रुपैयाँ नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ।

भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री हुने गरेको छ। आईएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। यो व्यवस्थाअनुसार हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको प्राधिकरणले जनाएको छ।

सुरुमा दुईवटा विद्युत् गृहलाई स्रोत मानी दैनिक रूपमा ३९ मेगावाट आईएक्समा बिक्री हुँदै आएकोमा जेठ २७ गतेदेखि दैनिक छवटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुन थालेको थियो। कात्तिक १८ गतेदेखि चिलिमे जलविद्युत् आयोजना र कात्तिक ३० गतेदेखि सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात सुरु भएको हो। योसँगै भारतर्फ निर्यात हुने विद्युत्को स्वीकृत क्षमता ४०९ मेगावाट पुगेको छ।

पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।