ग्वार्कोमा दुई वर्षभित्र फ्लाइओभर

228

काठमाडौँ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ ।

सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार फ्लाइओभर निर्माणका लागि प्रारम्भिक रूपमा सातवटा कम्पनी छनोट भएका छन् ।

यीमध्ये निश्चित मापदण्डभित्र रहेर कुनै एक कम्पनीसँग एक महिनाभित्रै निर्माण सम्झौता हुने जानकारी जैसीले दिनुभएको छ । उहाँले सम्झौतामा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने प्रावधान राखिने बताउनुभयो । यसअनुसार कुनै बाधा अवरोध नभए दुई वर्षभित्रै ‘फ्लाइओभर’ निर्माण हुनेछ ।

सडक विभागले असार अन्तिम साता बोलपत्र आह्वान गरेको थियो । फ्लाइओभर निर्माण गर्न आवश्यक बजेट सुनिश्चित भइसकेको निर्देशक जैसीले बताउनुभयो । उहाँका अनुसार अर्थ मन्त्रालयले ३३ करोड रुपियाँ बजेट सुनिश्चित गरेको छ ।

सो ठाउँमा फ्लाइओभर निर्माणका लागि यससअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । जियोकम/बीडीए/रेज जेभीले डीपीआर तयार गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।