
काठमाडौं । काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो ।
उक्त निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खुल्ने उल्लेख छ ।
त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।
अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ।
निजी सवारी साधनमा जोर विजोर प्रणाली यथावथ छ भने अब २५ सिटमाथिका सार्वजनिक सवारी साधन पनि जोर बिजोर प्रणालीमा चल्नेछन् ।