चन्द्रागिरि नगरपालिका–९ मा गाईजात्रा अवसरमा सडक र सार्वजनिक स्थल व्यवस्थित गर्न आग्रह

काठमाडौं, २०८२ साउन २३ — चन्द्रागिरि नगरपालिका–९ वडा कार्यालय, मच्छेगाउँले आगामी साउन २५ गते (आईतबार) गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरि मनाइने भएकाले स्थानीयलाई सडक तथा सार्वजनिक स्थल व्यवस्थित गर्न आग्रह गरेको छ।

वडा अध्यक्ष अच्युत अधिकारीद्वारा जारी सूचनामा परम्परा र संस्कृतिअनुसार गाईजात्रा मनाइने भएकाले सबैलाई पूर्वतयारी स्वरूप केही निर्देशिका पालना गर्न अनुरोध गरिएको छ।

सूचनामा सार्वजनिक स्थल र सडक वरिपरि निर्माण सामग्री, सवारीसाधन तथा अन्य सामाग्री नराख्ने, घर–आँगन र सडक वरपर सफासुग्घर राख्ने, सवारीसाधन सार्वजनिक स्थान वा सडकमा नराखी आफ्नै घर वा पार्किङमा राख्ने व्यवस्था गर्न भनिएको छ।

साथै, उल्लंघन गर्ने व्यक्तिको सवारीसाधन सार्वजनिक स्थल वा सडकमा जथाभावि पार्किङ गरेको पाइएमा नियमानुसार कारबाही गरिने चेतावनी दिइएको छ।