सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं, मङ्सिर १४ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १०० ले घटेर रु. ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु. एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।