म माओवादी केन्द्रमा होइन, राष्ट्रिय जनमोर्चामै छु : रोसन दानी

काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिका सदस्य रोसन दानीले आफू नेकपा (माओवादी केन्द्र) मा होइन, राजमोमै रहेको स्पष्ट पार्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) काठमाडौँअन्तर्गत चन्द्रागिरि नगरको दोस्रो सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा उहाँलाई वडा नं. १ को वाई.सी.एल. अध्यक्ष भएको उल्लेख गरिएपछि उहाँले यस्तो जानकारी दिनुभएको हो ।

२०७८ मङ्सिर १२ गते जारी प्रेसवक्तव्यमा आफू राजमो चन्द्रागिरिको इन्चार्ज तथा प्रगतिशील पत्रकार सङ्घ काठमाडौँको अध्यक्षसमेत रहेको जानकारी दिइएको छ ।

यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ
“२०७८ मङ्सिर ११ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) काठमाडौँ जिल्ला समितिअन्तर्गत चन्द्रागिरि नगर समितिको दोस्रो नगर सम्मेलनमा प्रस्तुत “राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन” को पाँचौँ पृष्ठको छैटौँ बुँदामा भनिएको छ– “चन्द्रागिरि नगर वाई.सी.एल. संयोजक क. विजय श्रेष्ठको उपस्थितिमा क. रोसन दानीको अध्यक्षतामा वडा नं. १ मा २६ सदस्यीय वाई.सी.एल. कमिटि गठन ।”

यस सम्बन्धमा स्पष्ट गर्न चाहान्छु, म रोसन दानी राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको सदस्य तथा चन्द्रागिरि नगर समितिको इन्चार्ज हुँ । त्यसका साथै म जनमोर्चा निकट प्रगतिशील पत्रकार सङ्घ, नेपाल काठमाडौँ जिल्ला समितिको अध्यक्ष पनि हुँ । त्यसकारण उक्त “प्रतिवेदन” मा उल्लिखित रोसन दानी नामको व्यक्ति सो भेलामा उपस्थित नै नरहेको र सो व्यक्तिको नामबाट सो स्थानमा कुनै पनि समिति गठन नभएको जानकारी गराउँछु ।”