मिर्गौला बेचबिखनमा संलग्न पाँचजना पक्राउ

प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा एक गिरोहलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा गिरोहका पाँचजनालाई पक्राउ गरेको हो।



jibss

पक्राउ पर्नेहरुमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङ रहेका व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। भारतमा गएर मिर्गौला दान गरेवापत जनही पाँच लाख नगद र एउटा नयाँ मोबाईल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको व्यूरोले जनाएको छ।