इन्द्रदहमा स्नान गर्न भक्तजनकाे घुइँचाे, दुुई दशकपछि हनुमान ढोकाकाे इन्द्र ढोलक दहचाेक लगियो

काठमाडाैँ, २८ भदाै । काठमाडौँको चन्द्रागिरी नगरपालिका- १ स्थित दहचोकमा रहेको इन्द्र दहमा आज (शनिवार) विशेष मेला लागेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्र दह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

भाद्रशुल्क पुर्णिमामा लाग्ने दहचोक इन्ददह स्नान मेला भर्न काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङलगायत देशका विभिन्न भागबाट ५० हजार दर्शनार्थी आउने चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीले बताए ।

यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वासअनुसार प्रत्येक बर्ष मेला भ्ररण आउने गरेका छन् । पूर्णिमाको दिन इन्द्र दहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्र र इन्द्रायणीको दर्शन गर्नाले जन्म-जन्मको पाप नास हुने जनविश्वास पाइन्छ ।

उक्त स्थानमा इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा दहमा स्नान गरेको किंवदन्ती पाइन्छ । साेही समय देखि यहाँ जात्रा मनाउन थालिएको समाजसेवी जीवन गिरीले बताए ।

इन्द्रले फूल चोरी गरेको अभियोगमा वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले सजाय स्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको दहचोक पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले बताए ।

इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा संमृद्धि कायम हुने विश्वास गरिन्छ । थानकोट, नैकाप, सितापाइला लगायत बिभिन्न स्थानबाट सजिलै पुग्न सकिने मोटर बाटोको अलावा पदयात्रा मार्ग समेत रहेकोले मेलामा भिडभाड हुने गरेको हो ।

काठमाडौँ उपत्यकाको अलवा धादिङ, मकवानपुर, गोर्खा लगायतका स्थानबाट पनि यो दिन मेला भर्न सर्वसाधारण आउने गरेका छन् । पूर्णिमाको अघिल्लो साँझमा मन्दिरमा बत्ती बाल्ने चलन रहेको छ । मृत्य भएका घरको सदस्यको नाममा यहाँ बत्ती बाल्नाले ती व्यक्तिले मोक्ष पाउने विश्वास रहिआएको स्थानीयहरु बताउछन् ।

शुक्रवार साँझबाटै भीडभाड देखिएको मन्दिरमा भक्तजनको सुविधाका लागि बिहानैदेखि दह खुला गरिएकाे थियो । बाटोको समस्याको कारण विगतका बर्षको भन्दा भक्तजनको चाप यो वर्ष कम रहेको अनुमान स्थानीयको छ ।

मेलामा खानेकुरा, लत्ताकपडादेखि विभिन्न खेलौनाको समेत स्टल राखिएका छन् । मेलामा स्थानीय उत्पादन तरकारी, फलफूल र अन्य घरेलु सामान समेत राखिएका थिए । मेलामा आउने भक्तजनको सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी वृत्त वलम्वुका साथै थानकोट जेसिज, नेपाल स्काउट, स्थानिय स्वयं सेवकको व्यवस्था गरिएको छ ।

इन्द्र ढोलक दहचाेक लगियाे

इन्द्रदहमा करीब दुई दशकपछि विशेष बाजागाजासहित हनुमान ढोकादेखि इन्द्र ढोलक लगिएको छ । करीब ३५० जनाको टोलीले ढोलक दहको आसपास क्षेत्रमा पुयार्याएको हो ।

विगतमा ढोलक लैजाने परम्परा रहेकामा करीब दुुई दशकसम्म विभिन्न कारणले त्यसलाई निरन्तरता दिन सकिएको थिएन । यसवर्ष ढोलक लैजाने प्रतिनिधिलाई उक्त वडाले स्वागत गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी गराएको वडा अध्यक्ष केसीले भने । लामो समयको अन्तरालपछि भित्राईएको ढोलकलाई सांस्कृतिकरूपमा महत्वका साथ हेरिएको छ ।

महानगरीय प्रहरी वृत्तको प्रमुख कुमार विक्रम थापका अनुसार भत्तजनहरुको शान्ति-सुरक्षाका लागि शुक्रबार देखि नै प्रहरी परिचालन गरिएको र स्थानिय स्वयंमसेवक संगको सहकार्यमा सरलतवरले दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।