काठमाडौँ महानगरपालिकाले अनधिकृत राखिएका परिचय पाटी आजबाट हटाइँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गर्दैछ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड हटाउन  महानगरले असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

‘तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजबाट हटाउँदैछौँ ।’ राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’ पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारी थप्दै भन्नुहुन्छ, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।’

३० बर्गफुटसम्मका परिचय पाटीको वडामा गएर दर्ता गराउन सकिने

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ ।

परिचय पाटी व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचनामा पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख थियो ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ हो ।