ओलीलाई बालेन्द्रको प्रश्न,’नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ?’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।



jibss

महानगरले सुकुम्वासीहरू हटाउन प्रयास गरेको सन्दर्भमा अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्ति सार्वजनिक भएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबूकमार्फत जवाफ फर्काएका छन् ।

उनले लेखेका छन्, ‘मन्त्री र पटक–पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे ।’

उनले लेखेका छन्, ‘सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । मन्त्री र पटक–पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश । तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनुभयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’