स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा

नेपालको चौधौदेखि १७ औं शताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ।



jibss

चोरी गरी अमेरिका पुर्‍याइएका सम्पदाले सयौं वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ।

अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो।

अमेरिकाको एक संग्रहालय र एक ग्यालरीमा राखिएका उक्त (तीन थान) सम्पदा कूटनीतिक पहल गरी स्वदेश ल्याइएको छ।

यसरी ल्याइएकामा काठको कलात्मक तोरण, उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ।

फिर्ता गरिएका पुरातात्विक महत्वका तीन वस्तुमध्ये ‘रुविन म्युजियम अफ आर्ट’ अमेरिकाबाट प्राप्त भएका दुइटा छन्। जसमध्ये एउटा सत्रौं शताब्दीको कलात्मक काष्टतोरण रहेको छ, जुन ललितपुरको यम्पीमहाविहार (इवही) को प्रवेशद्वारमाथि रहकोमा मर्मत गर्ने क्रममा झिकिएको थियो। सन् १९८५ पछि कुनै वर्ष उक्त वस्तु चोरी भएको थियो।

अर्काे १४ औं शताब्दीतिरको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काठको कलात्मक वस्तु रहेको छ।

उक्त सम्पदा काठमाडौं महानगरपालिका-२४ को इटुम्बहाल परिसरमा रहेको शाक्यको कूलपूजा गर्ने देवाली घरको अगाडि पहिलो तलामा रहेको दायाँतर्फको झ्यालमा रहेको थियो।

सन् १९९७ मा उक्त सम्पदा हराएको थियो। यसरी हराएको सम्पदा विभिन्न माध्यम हुँदै अन्त्यमा दातामार्फत् उपहारको रूपमा अमेरिकाको उक्त संग्रहालयमा पुगेको पाइएको छ।

उक्त वस्तु फिर्ताका लागि म्युजियमले आफ्नै प्रयासमा अध्ययन गरी स्वेच्छिक रूपमा दिने आशय प्रकट गरेपछि कूटनीतिक पहलमा ल्याइएको हो।

सम्पदा लिएर उक्त म्युजियमका कार्यकारी निर्देशक जारिट वित्स्ची र उक्त सङ्ग्रहालयका प्रबन्ध निर्देशक मिचेल वेनेट सिमोरेल्ला आएका थिए। सङ्ग्रहालयले आफ्नै खर्चमा सम्पदा ल्याएको जानकारी गराइएको छ।

त्यस्तै, अर्काे एउटा भने अमेरिकाको न्युयोर्कस्थित तिबेत हाउस ग्यालरीबाट ल्याइएको हो।

१३ औं शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति रहेको छ।

उक्त मूर्ति श्री सभानन्दा नामका बौद्ध अनुयायीले उक्त स्थानमा संरक्षण गरी राख्नु भनी उपहारस्वरूप छाडेर गएका पाइएको छ।

उक्त मूर्ति काठमाडौंको ओमबहालस्थित न्हुछेबहाको रहेको छपाइएको छ। त्यहाँबाट कसैले चारी गरी लगेको थियो।

उक्त मूर्तिको मूल्य ३० हजार डलर (रु ३० लाख बढी) रहेको छ।

१७ औं शताब्दीको काठको कलात्मक तोरणको मूल्य एक लाख १० हजार अमेरिकी डलर (रु एक करोड १० लाख बढी) र १४औँ सताब्दीको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला २२ हजार डलर (रु २२ लाख बढी) मूल्यको रहेको पुरातत्व विभागले जनाएको छ।

विभागद्वारा आज यहाँ आयोजित सम्पदा हस्तान्तरणका क्रममा मन्त्री आलेले सांस्कृतिक धरोहर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आफ्नै खर्चमा नेपाल ल्याएर हस्तान्तरण गरेकोमा सङ्ग्रहालयका प्रतिनिधिलाई धन्यवाद दिए।

सचिव न्यौपानेले  यस्ता पुरातात्विक तथा ऐतिहासिक सम्पदा विदेशमा अझै रहेकाले त्यसलाई पनि कूटनीतिक पहल गरी ल्याउने प्रयास भइरहेको बताए।

कला सम्पदाले भरिपूर्ण नेपाल सांस्कृतिक पुरातात्विक महत्वका हिसाबले विश्वमै विशिष्ट पहिचान बोकेको मुलुक हो।

पहिचानको धरोहरका रूपमा रहेको नेपालका यस्ता सांस्कृतिक सम्पदा नाश हुने क्रम जारी छ। चोरी तस्करी सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ।

केही अघिमात्रै ललितपुरको बालकुमारीको मूर्ति चोरी भएकोमा प्रहरकिो कडा निगरानीका कारण विदेशी निकासी गर्न नसकेपछि तस्करीले छाडेका अवस्थामा भेटिएको थियो। विगतका वर्षहरूमा भने यति धेरै सुरक्षा निगरानी नहुँदा मूर्ति चोरिएका कुरा स्पष्ट छ।