एमाले महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी खटिँदै

नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाधिवेशनमा चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।
महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ । नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको कार्यक्रममा चितवन र नवलपुरतर्फबाट सहभागीहरुले कार्यक्रम अवलोकन गर्ने भएकाले दुवै जिल्लाको सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले चितवनसँग समन्वय गरेर नवलपुरको सुरक्षा व्यवस्था मजबुत पार्ने गरी काम भइरहेको बताए ।

चितवनमा महाधिवेशन उद्घाटन हुने स्थान र बन्दसत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आश्मान तामाङले बताए । एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको भन्दै तामाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको जानकारी दिए । जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको भन्दै तामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने तामाङले बताए ।

“एमाले महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ” तामाङले भने, “महाधिवेशनस्थल सहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ ।” मङ्सिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने तामाङले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा योजना तयार भएको बताए । जिल्लामा भएका भन्दा थप ६५० जना नेपाल प्रहरीका सुरक्षाकर्मी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको अधिकारीले बताए ।

सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले बताए । १७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनी मार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताए । सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुने स्थलको बाहिरी सुरक्षा हेर्ने थापाले बताए ।

त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जना जनशक्ति परिचालन गरेको छ । राष्ट्रिय अनुसन्धान विभाग चितवनका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताए । जिल्लामा रहेका ५० जना राष्ट्रिय अनुसन्धानका कर्मचारी सहित थप ४० जना कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरहेको चन्दको भनाइ छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको बताए ।