नेपाल आज कुवेतसँग भिड्दै

काठमाडौं, जेठ २८ गते । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (शनिबार) आयोजक कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय अनुसार राति १०ः०० बजे सुरु हुने खेलमा नेपाल कुवेतविरुद्ध जितको खोजीमा छ ।

समूहको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोलले पराजित भएको थियो । नेपालविरुद्ध घरेलु टोली कुवेतपनि पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा कुवेत इन्डोनेसियासँग २-१ गोलले पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि भने यस खेल जन्मभूमिविरुद्ध कर्मभूमीको खेल हुनेछ ।

कुवेती नागरिक अलमुताइरी पछिल्लो एकबर्ष देखि नेपाली टोलीको प्रशिक्षक हुनुहुन्छ । कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । नेपाल र कुवेतबीच यसअघि आठ वटा भिडन्त भएका छन् । जसमा कुवेतले सात खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । फिफा वरीयता  समेत नेपाल एक सय ६८औं र कुवेत एक सय ४६औं स्थानमा छ ।

एएफसी एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको नेपालका लागि यो तुलनात्मक रुपमा कठिन समूह हो । यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपालले समूहको अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।