थानकोट सहित उपत्यका ६ स्थानबाट अमेरिकी डलर देखाई लुटपाट गर्ने ५ जना पक्राउ

चन्द्रागिरि ।

अमेरिकी डलर देखाइ लुटपाट गर्ने समूह पक्राउ परेको छ । गोकर्णेश्वर तथा थानकोट लगायत काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने भन्दै श्रृङखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेका ५ जना पक्राउ परेका हन् ।

पक्राउ पर्नेमा धादिङ सुनौलो बजार गाउँपालिका वडा नं. ७ घर भई ललितपुर चापागाँउ बस्ने बालकृष्ण कोइरालाको छोरा ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ सिङगाचै घर भई हाल काठमाडौंको गोकर्ण नाम्गेल बस्ने राम बहादुर तामाङको छोरा २४ वर्षीय विकाश तामाङ र २८ वर्षीय साजन तामाङ, धनकुटा साविक बेलारा गाविस वडा नं. ७ घर भई हाल काठमाडौंक भंगाल वस्ने दुर्गा बहादुर दमाईको छोरा ३२ वर्षीय दिपक दमाई र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ सिखोरङ घर भई हाल काठमाडौंको नयाँबस्ती बस्ने धन बहादुर तामाङको छोरा ३५ वर्षीय प्रेम बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई मंगलबार काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका अत्तरखेल र नाम्खेलबाट प्रहरीले पक्राउ गरेको हो । ५ जनालाई नियन्त्रणमा लिई ठगि मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।