मन्त्रीपरिषद निर्णय: इजरायलमा निधन भएकाको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा

मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ ।

बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ ।

यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

साथै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मृतकको शव तथा त्यहाँ फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको जानकारी दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको बताउनुभयो ।

नेपालीको उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै मन्त्री साउदले प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको बताउनु भयो ।।