रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल लगिदै

रातो मच्छिन्द्रनाथको रथलाई सोमबार लगनखेलबाट जावलाखेल तानिँदैछ । सोमबार दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ ।

आज रथ तान्नका लागि हिजो आइतवार बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो । रथ तान्नुअघि रथको टुप्पोबाट दुई पल्ट नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो बिहीवार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पु¥याइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नका लागि गएको वैशाख २८ गते ज्योतिषीहरूले आजको साइत निकालेका थिए ।