काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौं- भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो ।



उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनःनिर्माणका भइरहेको सातौँ शताब्दीको काष्ठमण्डप पुनः निर्माणका लागि कामपाले हालसम्मा रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यका अनुसार लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निरन्तर काम भइरहेको छ । त्यस अवधिमा छानो छाउनका लागि काठको अभाव भए पनि अहिले त्यो समस्यापछि टरेको छ, निरन्तर काम भइरहेको छ ।

आवश्यक पर्ने आठ सबै आइसकेकाले छिटोभन्दा छिटो पुनः निर्माण सक्ने चरणमा पुगेको शाक्यले जानकारी दिनुभयो । निर्माण कामअन्तर्गत अहिले तेस्रो तला अर्थात् गजुर राख्ने काम भइरहेको छ । त्यसपछि छानो छाउने काम हुनेछ । छानोको लागि आठ हजार क्युफिट काठ आवश्यक पर्छ ।

उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।रासस