सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले पाए आईपीओ निष्कासनको अनुमति

साउन १, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

दुबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेका हुन् । सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थिए ।

आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार सानिमा लाइफको आईपीओले ‘केयर एनपि आइआर ट्रिपल बि माइनस’ रेटिङ प्राप्त गरेको छ ।

जसले कम्पनीमा गरेको लगानी मध्यम किसिमको सुरक्षाको संकेत गर्छ । मानुषी लघुवित्तको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बि प्लस’ रेटिङ दिएको छ । कम्पनीले दिएको सिङ्गल बिप्स रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा नगरेको खण्डमा उच्च जोखिमको संकेत गर्छ । आईपीओ निष्कासन पछि सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब र मानुषि लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

निष्काशन पाएका कम्पनीमध्ये सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने ६० लाख कित्ता सेयरमध्ये कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि समान ५ प्रतिशतले हुन आउने ३–३ लाख गरी ६ लाख कित्ता छुट्टाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्नेछ ।