एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने

९ माघ ०७८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने भएको छ ।

शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको छ ।

कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने जनाइएको छ ।

बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।