भदौ अन्तिमदेखि सुपथ मूल्य पसल

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ ।

व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ ।

असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ ।

प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिनुभयो ।

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् ।

छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ ।

यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ । सुपथ मूल्य पसलबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले उपभोक्तालाई दिएको छुटबापतको रकम सरकारले शोधभर्ना गर्ने गरिएको छ तर विगतमा खाद्य कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरेबापत करिब डेढ अर्ब रुपियाँ शोधभर्ना पाउन बाँकी रहेको जनाएको छ ।

खाद्य कम्पनीले उपत्यकासँगै बाहिरी जिल्लामा आफ्ना बिक्री कक्षबाट सुपथ मूल्यमा सामान बिक्री गर्दै आएको छ ।

सुपथ मूल्य पसलमा नुन, तेल, चामल, घिउ, पनिर, फापर र कर्णालीको सिमी बिक्रीमा राखिनेछ । यस्तै घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिनेछ ।

याे खबर गाेरखापत्र दैनिकमा छ ।