काठमाडौँ महानगरको पर्वलक्षित अनुगमन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट पर्प लक्षित अनुगमन सुरु गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आज ३ वटा टोली परिचालन गरिए ।

उपप्रमुखले नेतृत्व गर्नुभएको टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार तथा त्यस क्षेत्रमा भएका मासु पसल हेरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ विक्री कक्षमा विक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार कक्ष हेरिएको थियो । त्यस क्रममा केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको थियो । त्यसपछि कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको विक्री व्यवस्था हेरिएको थियो ।

त्यस क्रममा सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेरिएको थियो । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नविकरण जस्ता पक्ष हेरिएको थियो ।

अनुगमनपछि बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले, ‘कानुन बराबर भएकोले बजारमा गलत गर्ने सबैलाई कारवाही गरिने धारणा राख्नुभयो ।’ ‘त्यसो भन्दैमा अनुगमनमा कारवाही नै गर्नु पर्छ भन्ने पनि होइन । सामान्य खालका समस्या गर्नेलाई सचेत बनाउने, सुधार गर्न मौका दिने र गम्भीर प्रकृतिको गल्ती गर्नेलाई कारवाही गर्ने हो । उपभोक्ताहरुलाई पनि जागरुक बनाउने हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्छ । म उपभोक्ताहरुलाई आग्रह गर्न चाहन्छु । आफूले खरिद गर्ने सामानको उत्पादक को हो? उत्पादन मिति कहिले हो? उपभोग्य मिति कहिलेसम्म छ? अतिकतम मूल्य कति हो? सामग्री तयार हुँदा के के मिसाइएको छ? हेरेर मात्र खरिद गर्नुहोला । पर्वका समयमा अनुचित लाभ लिनेहरु पनि हुन सक्छन् भन्ने विषयमा सचेत हुनुपर्छ ।’

उहाँले अनधिकृत व्यापारिक क्रियाकलापका सन्दर्भमा महानगरका हटलाइन फोनमा गुनासो टिपाउन सर्बसाधारणलाई आव्हान गर्नुभयो । ‘हामी उजुरीकर्ताको नाम गोप्य राख्छौँ । तपाईले टिपाएको समस्या समाधान गर्न हामी त्यहीँ पुग्छौँ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

महानगरका टोल फ्रि नंम्बरहरु १६६००१ ०५५११ र ११८० हुन् । यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो ।

खाद्य संस्थानको गोदाममा भएका चामलको म्यादका सम्बन्धमा संस्थानकी प्रादेशिक प्रमुख ज्ञानु थापाले, उपभोक्तालाई म्याद सकिएका कुनै पनि सामान बेच्ने मनसाय नरहेको बताउनुभयो । म्याद सकिन लागेको हो । सकिएको होइन । यस्ता सामान व्यवस्थापन गर्न समय छ । थापाको भनाइ थियो ।

खाद्य संस्थानमा केही कमजोरी भएकै हो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्नुहुन्छ, ‘सरकारका संयन्त्रहरुले नमूना भएर देखाउनु पर्छ । ताकि ती कामलाई देखाएर अन्यत्र सिकाइ प्रवर्धन गर्न सकियोस् । यहाँ त ती कार्यालयले गर्ने व्यवहार नै शंका गर्नु पर्ने खालका छन् ।’

अनुगमनका लागि खटिने ३ वटा टोलीमा संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय तहको पशु सेवासँग सम्बन्धित अधिकारीहरु हुनुहुन्छ । यसरी खटिने टोलीमा वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा खटिएको छ ।