थानकोटमा गरिएको विशेष यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ सवारी साधन कारवाहीमा , १५ वटा नियन्त्रणमा

काठमाडौं । थानकोटमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माईक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमोलगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । चेकिङका क्रममा १५ ओटा सवारी साधनलाई नियन्त्रणमा पनि लिएको हो ।

आइतवार दिउँसो तालिम प्राप्त प्राविधिकसहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका र टायर धेरै घिसिएकालगायत अवस्था ठिक नभएका २६ ओटा सवारी साधन कारबाहीमा परेको र १५ ओटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए । आज भएको चेकिङमा १ सय ५५ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको थानकोट क्षेत्रमा खटिएको थियो ।

यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुले आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।