थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा पत्राचार

काठमाडौँ । आज थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराउनुभएको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना भत्काउन जाने क्रममा महानगरीय प्रहरी बलका प्रमुखसहितका प्रहरी घाइते भएका छन् । नगर प्रहरी शर्मिला बोगटीलाई सरीर बन्धक बनाई गम्भीर रुपमा घाइते बनाएका कारण उहाँसहित ३ जना प्रहरीको नर्भिक अस्पतालमा आइसीयुमा उपचार भइरहेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

कर्तव्यका सिलसिलामा प्रहरीमाथि आक्रमण हुन दुःखद कुरा हो । यस कार्यमा सम्लग्नमाथि कानुनी कारवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई महानगरको अनुरोध छ । प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘गैरकानुनी रुपमा निर्माण भएका अनधिकृत संरचना हटाउने कार्यमा सबै पक्षबाट सहयोग, सहकार्य र समन्वय हुने विश्वाश गरेका छौँ ।’

तस्विर : चन्द्रबहादुर आले