पनौतीमा पुरानो शैलीका घर बनाउदा नगरपालिकाले पैसा दिने

८ कात्तिक ०७८, काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ ।



यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । पुरातत्व विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालिएको जनाइएको छ ।

“संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालेका छौँ”, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग थालेको हो । यसका लागि रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रमुख न्यौपानले भने, “प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्ने स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन थालेका छन् ।” काभ्रेपलाञ्चोकको उक्त नगरस्थित ७ नं वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने जनाइएको छ । “सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको छ”, प्रमुख न्यौपानेले भने, “यसका लागि मन्त्रिपरिषद्ले निर्णयको पर्खाईमा छ ।” उनले मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ भने ।
पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएको थियो । यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले यो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेटसमेत विनियोजन गरेको छ ।

“हामी बाह्रवर्षे मकर मेला अर्थात् आउँदो माघ महिनाअगावै विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारीमा छौँ”, प्रमुख न्यौपानेले भने । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा विश्वसम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन–२०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतका लागि मन्त्रालयगत प्रक्रिया सकिएको तर मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ ।

उनका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त निर्णयका आधारमा युनेस्कोले पनौतीलाई विश्वसम्पदामा सूचीकृत गर्नेछ । मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनःपनौतीको अनुगमन निरीक्षण गर्नेछ । हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिन सक्ने बताइएको छ । सूचीकृत प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ । नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

काभ्रेपलाञ्चोकको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा सहर)धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । यसै समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानको भनाइ छ । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ । पनौती नपाको वडा नं ५, ६ र ७ नम्बरमा १ सय भन्दाबढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । ती हुन् काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।
नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहे झैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्ममावती मानिँदै आइएको छ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

विसं १२७ मा राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्ममावती नदी गुप्तरुपमा बगिरहेको मान्यता छ । नेपाल पर्यटन बोर्डलेसमेत हालै विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई प्रचारमा ल्याएको छ । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको छ ।

पनौती नगर क्षेत्रका मनोरम पहाड, खेत, हिमशृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ । यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ ।
पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ ।