अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं, कात्तिक ३ गते । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ५४ पैसा छ भने बिक्रीदर एक सय ३३ रुपियाँ १४ पैसा छ । केन्द्रीय बैंकले अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपियाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपियाँ आठ पैसा तोकेको थियो ।

त्यस्तै, आज युरोको खरिद मूल्य एक सय २९ रुपियाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपियाँ २४ पैसा छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपियाँसँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मक पर्ने जानकारहरु बताउँछन् । नेपालको वैदेशिक व्यापार स्थिति  निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातित वस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको साँवा र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।