ट्रान्सफर स्टेशनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर

काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाको बर्षात्ले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ ।

अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । आज घाम लागेको छ । यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र स्टेशनमा फोहोरको मात्रा घटाउनेछौँ । ईञ्जिनियर लम्सालको भनाइ छ ।

ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ । यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानब स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । यहाँबाट फोहोर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।