
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदा अनुसार त्रिभुवन राजपथलाई पर्यटन मार्ग घोषणा गरिने भएको छ । त्यसका लागि सडकको मर्मत सुधार सरकारले गर्ने र होटल लगायत सुविधाको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ । समग्र पर्यटन पूर्वाधारको निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरी निजी क्षेत्रको लगानी बढाउने नीति समेत प्रदेश सरकारले लिने भएको छ ।
प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटलको विकास गर्न समेत निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । प्रदेश अन्तर्गत पर्ने राष्ट्रिय लोकमार्ग र प्रादेशिक तथा स्थानीय प्रमुख लोकमार्गलाई सम्भाव्यताका आधारमा पर्यटन कोरिडरका रुपमा विकास गर्ने समेत मस्यौदामा उल्लेख गरिएको छ ।
संघीय सरकारसँगको सहकार्यमा भारतका प्रमुख शहरमा हवाई र बस सेवा सञ्चालन गर्ने समेत नीतिमा उल्लेख गरिएको छ । काठमाडौं केन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न काठमाडौं आसपासमा पर्यटन गन्तव्यको विकास गरी सहज पहुँच मार्गको विकास गर्ने समेत नीतिमा उल्लेख छ ।
स्थानीय तहसँगको सहकार्यमा प्रदेशभरका पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल निकास, साइकल लेन, निःशुल्क इन्टरनेटसहितका सुविधा उपलब्ध गराउने समेत प्रदेश पर्यटन नीतिमा उल्लेख छ ।