
चन्द्रागिरि।
बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नका लागि पैसा नलाग्ने टेलिफोन सेवा शुरु गरेको छ।
प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरूको समस्या सुन्नका लागि बुधबारबाट ‘टोल फ्री नम्बर’को शुरुवात गरेको हो।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले निःशुल्क टेलिफोन सेवाको शुरुवात गर्दै टोल फ्री नम्बरले किसानहरूले सिधै मन्त्रालयसँग पहुँच राख्नसक्ने बताए। मन्त्री पोखरेलका अनुसार मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्री नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क फोन गरेर आफ्ना समस्या, गुनासो टिपाउन सक्नेछन्।
यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ। फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाइ छ।
टोल फ्री नम्बरले किसानको समस्या पहिचान हुने र प्राथमिकताको आधारमा उनीहरूको समस्या समाधान गर्न मन्त्रालयले काम गर्ने समेत उनले बताए। हाल कार्यालय समयमा मात्रै टोल फ्री नम्बर सञ्चालन गरिए पनि आवश्यकतानुसार यसको समय बढाइने उनको भनाइ छ।
मन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए। सोहीअनुसार टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हुन्।