लागूऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, साउन २ गते । नेपाल प्रहरीले लागूऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागूऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागूऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।

पक्राउ परेका कुमारलाई लागूऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।