भारतमा गएका श्रमिक भन्छन् : ‘रित्तै जान्छौँ, रित्तै फर्कन्छौँ’

बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार ( भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा ।
कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताउनुभयो । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उनको भनाइ छ । “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ । अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइदोरहेछ”, उनले भने । सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदोरहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरीज्वाइले दुःख सुखमा साथ दिएका छन् उहाँलाई ।

भारतमा काम गरेर फर्केपनि न त उहाँको जिन्दगी फेरियो न त राम्रो कमाइ गरी पैसा नै बचत हुन सक्यो । आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिन्छन् उनी । सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । उनी आउँदा रित्तै भाइबुहारीको घरमा फर्किए । न कमाइ भयो, न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बितेपनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो ।

उनीहरु जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो यो । गाउँका ठेकेदारले कमाइ राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाइ राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गए । कालापारमा कमाइ गर्न जानुभएका उहाँ परिवार पाल्न समस्या भएपछि नेपाल फर्किनुभयो । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् ।

उनले भने, “भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ ।” ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उहाँको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उहाँको बुझाइ छ ।

अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए । अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन् । आफूसँगका साथीहरु, पढाइलेखाइ गरेर जागीरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाइ छ ।