
काठमाडौं ।
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि वृद्धि गरिएको हो । यातायात व्यवस्था विभागले सोमबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
जारी सूचनामा यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरेको छ । वृद्धि भएको भाडादर सोमबारदेखि नै लागू हुने पनि विभागले सूचनामा भनेको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेसँगै सार्वजनिक यातायातको पनि भाडा समायोजन गर्न बाध्य भएको विभागले जनाएको छ ।