सुरुङ खन्ने काम निरन्तर

काठमाडौँ, जेठ ४ गते । कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ खन्ने कामलाई निरन्तरता दिइएको सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले कोभिड–१९ महामारीका कारण धेरैजसो विकास आयोजनाको काम ठप्प रहेको अहिलेको अवस्थामा थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित अगाडि बढिरहेको जानकारी दिनुभयो । सुरुङ खन्ने कामलाई निरन्तरता दिइए पनि महामारीकै कारण फ्लाई ओभर, पहुँचमार्ग निर्माणलगायतको काम तत्काल बन्द गरिएको जानकारी उहाँले दिनुभयो ।
आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने व्यवस्था गरिएको छ ।
सुरुङ खन्ने कामलाई निरन्तरता दिन अहिलेसम्म निर्माण सामग्री अभाव नभएको बताउँदै उहाँले निषेधाज्ञाका कारण रातको समयमा आवश्यक निर्माण सामग्री ढुवानी गर्ने गरिएको जानकारी दिनुभयो । महामारीको सङ्क्रमण फैलिन सक्ने भएकाले आयोजनामा कार्यरत हरेक जनशक्तिलाई हरेक दिन आउने बेलामा ज्वरो र अक्सिजनको स्तर नाप्ने गरिएको छ । यसअघि मुख्य जनशक्तिका लागि आयोजना स्थलमै बस्ने व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो ।
आयोजनाका अनुसार वैशाख अन्तिमसम्म मुख्य सुरुङमार्गको ११४ मिटर (४.२ प्रतिशत) र सहायक सुरुङमार्गको २२९.५ मिटर (९.० प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ ।

मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर र सहायक सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।
त्यसैगरी काठमाडौँतर्फ मुख्य सुरुङमार्गको ४९ मिटर (१.८ प्रतिशत) र सहायक सुरुङमार्गको १५७ मिटर (६.१ प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको छ । त्यसैगरी धादिङतर्फ मुख्य सुरुङमार्गको ६५ मिटर (२.४ प्रतिशत) र सहायक सुरुङमार्गको ७२.५ मिटर (२.८ प्रतिशत) खन्ने काम सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो ।गोर्खा अनलाइन बाट