बाहिरी चक्रपथको डिपिआर फेरि फेर्ने तयारी

काठमाडौं । काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्ने तयारी गरिएको छ । काठमाडाैं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सो आयोजनाका लागि आवश्यक जग्गाको व्यवस्थापन सहज ढंगले गर्न पनि त्यसको डिपीआर संशोधन गर्न लागिएको जानकारी दिएका छन् ।

आइतबार संघीय संसदको विकास तथा प्रविधि समितिको सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको सम्बन्धमा गरिएको छलफलमा भाग लिँदै उनले बाक्लो बस्ती भएको ठाउँबाट नभई अन्यत्रबाट सो आयोजनाको कामलाई अघि बढाउन पनि डिपीआर संशोधन गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे । उनले सो आयोजनाको डिपीआर संशोधनका लागि निःशुल्क काम गर्ने गरी प्रस्तावहरु आएको पनि समितिलाई जानकारी दिए । जग्गाको मुआब्जालाई लिएर हुने विवादका कारण तथा आवश्यक बजेटको समेत व्यवस्था नहुँदा सो आयोजनाको काम अघि बढाउन नसकिएको विकास आयुक्त तिवारीको भनाइ छ ।

प्राधिकरणले सो आयोजना अघि बढाउन बजेटको अभाव नहुने पनि स्पष्ट पारेको छ । विकास आयुक्त तिवारीले बाहिरी चक्रपथ वरपर २ सय ५० मिटर जग्गा चक्रपथका लागि व्यवस्था हुने गरी कामलाई अघि बढाउने बताए । करिब १ खर्ब लागतमा निर्माण हुने अनुमान गरिएको सो आयोजनामा चक्रपथ निर्माणका लागि करिब ७२ अर्ब र पीडित पक्षलाई क्षतिपूर्ति दिन करिब २८ अर्ब खर्च हुने प्राधिकरणको अनुमान छ ।

यता, समितिका सदस्यहरुले भने विकास, निर्माणको कामलाई अघि बढाउन ठोस योजना तय गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।