आर्मीलाई हराउदै ब्रिगेड ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौं, ५ मंसिर । जारी चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपाल आर्मीलाई हराउदै ब्रिगेड ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विभागीय ‘ए’ डिभिजन प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।

ब्रिगेड ब्वाइजले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल भयो । ब्रिगेड ब्वाइजले खेलको ३०औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोल व्वाइजका लागि निर्णायक सावित भयो ।

पहिलो हाफमा ब्वाइजले आर्मीलाई दवावमा राखेको थियो । १५औं मिनेटमा ग्लोरीले नै पहिलो पोस्ट आक्रमण बुनेको थियो । १९औं मिनेटमा कप्तान जय गुरुङको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ३०औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गर्दै पहिलो बारमा गोल गर्दा आर्मीका गोलरक्षक विश्वास चौधरीले रोक्ने कुनै मौका नै पाएन ।

एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्केपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो । आर्मीले दोस्रो हाफमा लगातार पोस्ट आक्रमण बुनेपनि गोलरक्षक बिशाल सुनुवार बाधक बन्यो ।

५३औं मिनेटमा दिनेश हेन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा आर्मीले बराबरीको सुन्दर मौका खेर फाल्यो । ६०औं मिनेटमा दिनेशकै प्रहार गोलरक्षक बिशालले बचाइदिए । ६९औं मिनेटमा सुदिल राईले बक्स भित्र पाएको सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्मीले बराबरी गर्ने अर्काे सुन्दर मौकालाई बीबीसीका डिफेन्डर रन्दिप पौडेलले क्लियर गर्दै बराबरी टारे ।

दिनेश हेन्जनको हेडर रन्दिपले गोललाइनबाटै हेड गर्दै क्लियर गरिदिएका थिए । खेलमा निर्णायक गोल गरेका ब्वाइजका विदेशी खेलडी उदे ग्लोरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको अवार्ड चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामहरि बस्नेत र आयोजक दिपशशिखा युवा समूहका अध्यक्ष रवि बुढाथाकीले प्रदान गरे ।


अब बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग मंसिर १० मा खेल्नेछ । पुलिस र च्यासलबीच ७ मंसिरमा क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा शुक्राबार दोस्रो क्वाटरफाइनलमा फ्रेन्डस र रुस्लान थ्री स्टार क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ः३० बजेपछि हुनेछ ।