चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले दक्षिण कोरियामा हुने इलाभेन्थ वल्र्ड तेक्वान्दो कल्चरल एक्पो २०१७ का लागि ५ जना खेलाडीहरुलाई पठाएको छ। तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा जेसिस स्कुल डोजाङ प्रमुख नोर्वु लामाका साथै खेलाडीहरू अभिनव शाक्य, प्रसुम तामाङ, प्रतीक श्रेष्ठ, नवीन, श्रेष्ठ र उज्वल कटुवाललाई खेलाडीका अभिभावकका साथै विद्यालय परिवारको तर्फबाट बुधवार एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।
दक्षिण कोरियाको मुजुमा जुलाई १३ देखि १८ सम्म ५० देशका तेक्वान्दो खेलाडीहरूको सांस्कृतिक प्रदर्शनी तथा प्रतियोगिता हुने बताइएको छ । विद्यालयका कक्षा ६ देखि १० सम्म सबै कक्षाबाट प्रतिनिधित्व गर्दै कोरिया गएका खेलाडीहरुले कालो टोपी भादगाउँले मेरो …. बोलको गीतमा सांस्कृतिक प्रशर्दनी गर्नेछन् ।
चन्द्रागिरि नगरपालिका ११ का नवनिर्वाचित वडा अध्यक्ष हरिभक्त महर्जनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट महर्जनले जिव्स स्कुलले तेक्वान्दो खेलका क्षेत्रमा चन्द्रागिरी नगरपालिकामा नै उत्कृष्ट प्रदर्शन गरेको स्मरण गर्दै कोरियामा हुने प्रतियोगिताका लागि शुभकामना दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रराज श्रेष्ठले जेसिसले अन्य खेलमा समेत चासो देखाउँदै आएको र आगामी दिनमा अन्य खेलहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्ने विश्वास रहेको धारणा राखेका थिए ।
जिब्स स्कुल प्रा.लि.का अध्यक्ष रमेश चन्द्र श्रेष्ठले गत वर्ष फस्ट जेसिस स्कुल इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा विद्यालयका विद्यार्थीहरुले इन्डियन खेलाडीका साथै आर्मी, प्रहरी लगायतका विद्यालयका विद्यार्थीहरुसँग समेत उत्कृष्ट प्रदर्शन गरेको अनुभव रहेको स्मरण गर्दै कोरियामा हुने प्रदर्शन पनि उत्कृष्ट हुने विश्वास रहेको बताए ।
विद्यालयको बिदाइ पछि रङ्गशाला पुगेका खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर रानाले भेटी शुभकामना दिँदै आगामी दिनमा विद्यार्थी खेलाडी तथा विद्यालयलाई भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने वचनबद्धता व्यक्त गरे । रंगशालामै संघका निर्देशक रामशरण अधिकारीले उत्कृष्ट प्रर्दशन गरि नेपालको शिर अझै उचो राख्नका लागि शुभकामना दिए ।
Leave a Reply
You must be logged in to post a comment.