चन्द्रागिरि वडा नं. ३ थानकोटको प्रवेशद्वारमा फुटपाथ व्यवसाय मौलाउँदै

चन्द्रागिरि वडा नं. ३ स्थित थानकोटको प्रवेशद्वारमा फुटपाथ व्यवसाय मौलाउँदै गएको छ। चन्द्रागिरि नगरपालिकाका मुख्य चोक र सडकहरुमा बिहानीपख र साँझपख हिँडिनसक्नुको भीड हुन्छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै चन्द्रागिरि नगरपालिकामा ठ्याकै बिपरित भएको छ।

यसरी जथाभावी सञ्चालनमा आएको फुटपाथ पसल व्यापार व्यवसायहरु व्यवस्थित गर्न चन्द्रागिरि नगरपालिकाले कुनै ठोस कदम चालेको देखिँदैन ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार फुटपाथमा पसल व्यापार व्यवसाय गरे जरिवाना सहित कारबाही गर्ने उल्लेख गरेको छ।

अब चन्द्रागिरि नगरभित्र फुटपाथमा व्यापार व्यवसाय गर्न नपाउने

सडक छेउछाउ थापिएका फुटपाथ पसलको भीड छिचोल्न हम्मेहम्मे नै पर्छ । फुटपाथ व्यवसाय बाटैभरि फैलाएपछि हिँड्ने बाँटो नै हुँदैन ।

जथाभावी सञ्चालनमा आएको फुटपाथ व्यवसायले पैदल यात्रुहरुलाई निकै अप्ठेरो पर्ने गरेको छ । पैदलयात्रीको लागि बनाइएका फुटपाथ सबै व्यापार व्यवसायको प्रयोजनमा लगाइएको छ ।

फुट्पाथ व्यापारले नगरलाई अस्तव्यस्त र कुरुप बनाएको छ । त्यसबाट सडकमा सवारी समेत तोकिएको गतिमा गुड्न नपाएपछि सबैतिर अस्तव्यस्त भएको हो । सडकको छेउछाउमा जथाभावी फुटपाथ सञ्चालन गर्न दिँदा सडक दुर्घटनासमेत बढेको छ ।

फुटपाथमा व्यापार सञ्चालन गर्नेहरुले राज्यलाई राजश्व नतिरेको नजिकैका सटर र भवनमा पसल राख्नेहरुले आरोप लगाएका छन् । उनीहरुको व्यवसाय दर्ता नभएकाले सरकारी निकायले कर वा राजश्व उठाउने कुनै माध्यम नभएको ठूला पसलेहरु बताउँछन् । कमाउने तर सरकारलाई कर तिर्नु नपर्ने भएपछि फुटपाथ व्यवसाय फस्टाएको उनीहरुको दाबी छ ।

फुटपाथ व्यवसायबाट केही सीमित व्यक्तिलाई फाइदा पुगे पनि दैनिक आवतजावत गर्ने पैदल यात्रुहरुले भने निकै कठिनाइ भोग्नु परेको सबैले देखेका छन् । तस्बिर:- शोणितपुर ,थक्वा यें