१३ औं नेवाः एकता दिवसको तयारी अन्तिम चरणमा दर्जनौं सांस्कृतिक बाजा सहित हजारौंको सहभागी हुने

ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण चन्द्रागिरी नगरपालिका वडा नं. १२ मा पर्ने नेवाः वस्ती बलम्बुमा १३ औं नेवाः एकता दिवस भब्य रुपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार बलम्बुमा पत्रकार भेटघाटको क्रममा नेवाः देय् दबू चन्द्रागिरी नगर समितिका अध्यक्ष नारायण महर्जनले सो कुरा बताउनु भएको हो । उहाँले आउदो पुष १६ गतेको दिनमा दर्जनौं सांस्कृतिक बाजा सहित उपत्यकका विभिन्न स्थानवाट सहभागी हुने हजारौं हजार नेवाःहरु गुर्जुधारामा भेला हुने र सांस्कृतिक बाजागाजा सहित जुलुस बलम्बुमा पुग्ने बताउनु भयो ।

यसका लागि विभिन्न स्थानमा प्रचार प्रसार कार्यक्रम भइरहेको र आउदो शुक्रवारको दिनमा बलम्बुमा सुकुन्दा ¥याली समेत आयोजना गर्ने पनि बताउनु भयो । महर्जनले वाचन गर्नु भएको प्रेस विज्ञप्तिमा ‘१३ औं नेवाः एकता दिव नेवाः देय् दबू चन्द्रागिरी नगर समिति र ज्यापु महागुथि चन्द्रागिरी नगर समितिको स्थानीय व्यवस्थापन र स्थानीय संयोजनमा हुनेछ ।

नेवाः देय् दबू केन्द्रको संयोजनमा नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिमा भएका घटकहरु, नेवाः समाजका विभिन्न जातीय संघ संस्था, नेवाः अभियान संचाल गर्दै आएका संघ संस्था सहित करिव दुई दर्जन संस्थाहरुका १३ औं नेवाः एकता दिवस संयुक्त आयोजक समितिको आयोजनामा हुनेछ । नेपाल संवत ११३० पोहेलाथ्व नवःमिको दिनमा लाखौं नेवाःहरु दशरथ रंगशालामा भेला भई नेवाः समुदायले जन स्टरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको, विविधता भएका नेवाःहरु एकता भएको घोषणा गरेको दिनको सम्झनामा प्रत्येक बर्ष यो दिवस मनाउदै आएको हो ।

नेवाहरुलाई एकता बनाउने, नेवाः भाषा, कला संस्कृति एवं नेवाः सभ्यता संरक्षणको आवाज बुलन्द गर्नेदेखि नेवाः समुदाले उठाएका भूमि, सम्पदादेखि विभिन्न सवालहरुप्रति राज्यको ध्यानाकर्षण गर्न, भाषा आयोगको सिफारिस अनुसार वाग्मती प्रदेशमा नेपालभाषालाई कामकाजि भाषा बनाउन, नेपाल पक्ष राष्ट भएका अन्तर्राष्ट्रिय कानुन लागू गराउने लगायतका मुद्दाहरु यो दिवसमा उठाउने छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति आयोग, भाषा आयोगका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।’ उल्लेख गरिएको छ ।

नेवाः देय् दबू चन्द्रागिरी नगर समिति र ज्यापु महागुथि चन्द्रागिरी नगर समितिको आयोजनामा सो पत्रकार सम्मेलन भएको हो । ज्यापु महागुथि चन्द्रागिरी नगर समितिका अध्यक्ष धनवीर महर्जनले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सो पत्रकार भेटघाट कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष राजभाई महर्जनले नेवाः एकता दिवसका लागि नगरपालिकाले पनि सहकार्य गरेको बताउदै यो दिवस चन्द्रागिरीम ागर्न पाउनु खुसिको कुरा भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः एकता दिवसका विभिन्न पक्षको बारेमा जानकारी गराउदै १३ औं नेवाः एकता दिवस बलम्बुमा कसरी हुदैछ भनी देशभरीका नेवाः लगातयले चासो लिइरहेको बताउनु भयो । उहाँले नेवाः एकता दिवस देशैभरी विभिन्न कार्यक्रम गर्दै मनाउने समेत बताउनु भयो ।