चन्द्रागिरि केबलकारमा ‘केबलकार उद्धार अभ्यास’

नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी सोको पूर्वतयारीस्वरूप अभ्यास गरेको छ। चन्द्रागिरि हिल्स लिमिटेडसँग सहकार्य सोमबार चन्द्रागिरि हिल्स लिमिटेडको केबलकार थानकोटमा ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको हो।

विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई उच्च रेखा उद्धार तरिका (डोरी) द्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यास गरिएको हो। त्यसक्रममा नेपाली सेनाका उद्धारकर्ताहरू र चन्द्रागिरि हिल्स लिमिटेडको उद्धार टोलीले केबलकारसँग रहेका उद्धार सामग्रीहरू र नेपाली सेनासँग रहेका उद्धार सामग्रीहरूको प्रयोग गरी अभ्यास गरेका हुन्। उद्धारकर्ताहरूबाट घाइते तथा सद्दे मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरू गरिएको थियो।

उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, नं.१ विपद् व्यवस्थापन गण तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो। उक्त अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायकरथी पदमबहादुर बुढालगायतको उपस्थिति थियो।

यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनका लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने सेनाले जनाएको छ।

Chandragiri army