चन्द्रागिरि हिल्सकाे नाफा ७ करोड ७७ लाख

चन्द्रागिरि।

चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशित गरेकाे विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ऋणात्मक रहेको कम्पनीको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सुधार देखिएकाे छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको थियाे ।

समीक्षा अवधिमा कम्पनीले ६२ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ४४ करोड ४० लाख सञ्चालन आम्दानी गरेकाे थियो ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३० करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म ४३ करोडले ऋणात्मक थियो।

नाफा बढेसँगै कम्पनीकाे वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) सुधार देखिएकाे छ । अघिल्लो वर्षको यही अवधिमा १.०३ रुपैयाँले ऋणात्मक रहेको प्रतिसेयर आम्दानी अहिले भने ५ रुपैयाँ ७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७०.२८ गुणा रहेको छ।