चन्द्रागिरि नगरपालिकाले बलम्बु माध्यामिक बिधालयलाई प्राविधिक शिक्षालय बनाउने

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिकाको  बलम्बु माध्यामिक विद्यालयमा भवन निर्माणसहित प्राविधिक शिक्षालय निर्माण र सञ्चालन गर्ने भएको छ । नगरपालिका र सोड नेपाल संस्थाको सहयोगमा विद्यालयमा सो सञ्चालन गर्न लागेको हो ।

भवन निर्माण र प्राविधिक शिक्षा सञ्चालनको लागि नगरपालिका र संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नगर प्रमुख घनश्याम गिरीज्युको अध्यक्षतामा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा नगर उप प्रमुख बसन्ती श्रेष्ठज्यु, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गीज्यु, वडा नं १२ का अध्यक्ष न्हुच्छे बहादुर महर्जनज्यु, बिद्यालयका प्रधानाध्यापक सुमन राउतज्यु, सोड नेपालका केन्द्रिय अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठज्यु लगायत अन्य सोड नेपालका पदाधिकारीज्युहरु र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मानदास महर्जनज्यु लगायत अन्य पदाधिकारीज्युहरुको उपस्थिति रहेको थियो। नगर प्रमुखज्युले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा
“पढ्दै कमाउँदै” भन्ने अवधारणा अनुसार नगरपालिकाले सुरुवाती चरणमा बलम्बु माध्यामिक बिधालयलाई प्राविधिक शिक्षालय बनाउन लागेको र भविष्यमा अन्य बिधालयमा पनि प्राबिधिक सम्बन्धि पठन पाठन संचालन गरि कक्षा १२ सकिँदा सम्म विधार्थीले प्राबिधिक सीप र ज्ञान हासिल गर्ने र आय आर्जन गर्न सक्ने कुरा जानकारी गराउनु भयो। नगरपालिकाले कायम गर्दै आएको कोरियन सरकारसंगको भगिनी सम्बन्धले पनि यस कार्यमा साथ सहयोग जुटेको हो।

“वर्ल्ड ड्रिम” नामक कोरियन संस्थाले सोड नेपाल मार्फत यस प्राबिधिक शिक्षालय निर्माण र संचालनमा आर्थिक सहयोग प्रदान गर्न लागेको हो। नगरपालिकाले ३०% र कोरियन संस्थाले ७०% आर्थिक व्ययभार लिने गरि उक्त निर्माण कार्य संचालन हुनेछ। नगर प्रमुखज्युले उक्त सम्झौता अनुसार बलम्बु माध्यामिक बिधालयमा हाल लाई ४ वटा प्राविधिक क्षेत्रमा (मोबाइल रिपेयरिंग, इलेक्ट्रिसियन, ब्युटी पार्लर र अटोमोबाइल) अध्यापन गराइने र १२ कक्षा उत्तीर्ण हुँदा शैक्षिक प्रमाणपत्रका साथै CTEVT को प्रमाण पत्र पनि प्राप्त गर्ने कुरा जानकारी गराउनु भयो। कक्षा ९ देखि १२ का बिधार्थीहरुलाई उक्त प्राबिधिक शिक्षाको पठन पाठन गराइनेछ। दक्ष जनशक्ति बिधालयबाटनै उत्पादन गराउनु पर्छ भन्ने कुरा बताउदै नगर प्रमुखज्युले यस किसिमको कार्यक्रमले नगरबासीलाई स्वरोजगारको लागि सहज हुने र परिवार, समाज र सिङ्गो नगरकै आर्थिक उन्नतिका लागि टेवा पुग्ने कुरा जानकारी गराउनु भयो।