चन्द्रागिरि नगरपालिकाले ४४ लाख ८६ हजार १२६ औषधी खरिद गरे

महालेखा परीक्षकको कार्यालयले चन्द्रागिरि नगरपालिकामा गत वर्ष औषधी खरिदमा  ४४ लाख ८६ हजार १२६ सोझै खरिद गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको चन्द्रागिरि नगरपालिकाको वार्षिक प्रतिवेदन अनुसार:-
“सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १(क) मा बीसलाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचारपत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । यस आ. व. मा चन्द्रागिरी नगरपालिकाले रु.४४,८६,१२६।०० को औषधि खरिद गर्दा प्रतिस्पर्धात्मक विधि नअपनाई दररेट माग गरी वा सोझै खरिद गरेको छ । यस सम्बन्धमा देखिएको व्यहोराहरु निम्नानुसार छन्‌ ।

खरिद गरेका उक्त औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको नदेखिएको । आपूर्ति हुने औषधि डव्लु.एच.ओ. सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि बिक्रीको लागि होइन खुलाएको प्रमाण समावेश नभएको |

औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिल्लाबाट हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रुपमा आम्दानी बाँध्ने नगरेको । औषधिको खर्च घटाउदा मागफारामको आधारमा घटाउनुपर्ने एकमुष्ठ घटाउने गरेको ।

तसर्थ औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको यकिन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको औषधिहरु जिम्मेवारी सारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्ने ” महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।