
चन्द्रगिरि :
चन्द्रगिरि डाँडामा रहेको भालेश्वरको मुल मन्दिरमा त्रिशूल स्थापना गरिएको छ।
चन्द्रगिरि भालेश्वर मन्दिर संरक्षण समितिले त्रिशूल मन्दिरमा त्रिशूल स्थापना गरेको हो। हरिबहादुर बम्जनले आफ्ना पिताको स्मृतिमा त्रिशूल स्थापनाका लागि सहयोग गरेको संरक्षण समितिका अध्यक्ष श्याम बलामीले जानकारी दिए।
प्रदेश सभा सदस्य यमुना देवी श्रेष्ठ, रमादेवी आलेमगर तथा चन्द्रगिरि नगरपालिकाकी उपमयेर बसन्ती श्रेष्ठले यो त्रिशूल स्थापनाको उद्घाटन गरेका छन्।
यो त्रिशूल स्थापनापछि मुल मन्दिर भक्तजनले चिन्नेछन्। यसै अवसरमा धार्मिक विधि पूर्वक भव्य रूपमा होली मनाइएको छ। समितिको पहलमा ठूलो संख्याका स्थानीयले मन्दिरमा पुगेर पूजाअर्चना गरे।
समितिका अध्यक्ष बलामी प्रत्येक वर्ष होलीका दिन स्थानीय मन्दिरमा पूजाआर्चना गरी होली मनाउने गरेको बताउँछन्। झिंगु नेवा बाँसुरी खल, सृजनशील नौमति बाजा, झिमे बाजा लगायत धर्मसंस्कृति र झाँकीसहित स्थानीय त्यहाँ पुगेका थिए।
धार्मिक विधि अनुसार बाह्मणद्वारा पूजा गरेपछि बाँसुरी बाजासहितका झाँकीसहित परम्परागत रूपमा मन्दिरको परिक्रमा गर्ने चलन छ। यो पटक चन्द्रगिरी केवलकारले सहज रूपमा स्थानीय मन्दिरसम्म पुगेर पूजाआर्चना गर्ने वातावरण बनाइदिएको थियो।
गत वर्ष भने स्थानीय र केवलकार प्रशासनबीच विवाद समेत भएको थियो। संरक्षण समितिका अध्यक्ष बलामीले यो पटक केवलकार प्रशासनले पनि स्थानीयलाई मन्दिरसम्म पुग्न र पूजाआजा गर्न सहज वातावरण बनाइदिएको बताए।
भालेश्वर महिला समूहले होलीका अवसरमा समय बजीको व्यवस्थापन उपलब्ध गराएको अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिइए। ‘समय बजी’ नेवारी समुदायको पारम्परिक परिकार हो।
भालेश्वर महादेवको दर्शन गरेर पूजा गर्दा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको स्थानीय अगुवा विजय श्रेष्ठ बताउँछन्। अन्नपूर्ण पोस्ट