
रोशन दानी ।
मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।
काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ ।
नागढुंगा सुरूङ मार्गको सहायक (इभ्याकुएसन) सुरूङ भोलि (सोमबार) बाट ‘ब्रेक थ्रु’ हुने भएको छ। इभ्याकुएसन सुरुङमार्गको लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ भने यो सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ।
आयोजनाको कूल लागत २० अर्ब ६० करोड बराबर छ । त्यसमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड बराबर उपलब्ध गराइएको छ ।
जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको सो ऋणको ब्याजदर शून्य दशमवल शून्य एक प्रतिशत छ । सुरुको १० वर्षपछि मात्रै ब्याज लाग्ने गरी चुक्ता समय ४० वर्ष तोकिएको छ । नेपाल सरकार र जापान सरकारबीच २०१७ डिसेम्बर २२ मा ऋण सम्झौता भएको थियो । जापानी कम्पनी हाजमा एन्डो करर्पोरेसनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको हो ।
आयोजनामा हाल चन्द्रागिरि वडा नं ५ मा ‘फ्लाईओभर’ निर्माण भइरहेको छ । साथै पूर्व र पश्चिमतर्फको पहुँच सडक निर्माण भइरहेको छ । पश्चिमतर्फको पहुँच सडकमा हेवा पर्खाल निर्माण र अन्य काम जारी छ ।