
नेपाल रेडक्रस सोसाईटीले चन्द्रागिरि नगरबासीहरुको लागि निशुल्क रगत उपलब्ध गराउने भएको छ।
चन्द्रागिरि नगरपालिकाको सभाहलमा नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका बीच एक सम्झौता पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
उक्त १२ बुदे सम्झौता पत्र हस्ताक्षर पश्चात् यहि २०७९ माघ १ गते देखि कार्यान्वयन हुने गरि आवश्यकता परेको अवस्थामा चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दाहरुको लागि नेपाल रेडक्रसले निशुल्क रगत उपलब्ध गराउने भएको छ ।
कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन प्रमुख, सामाजिक विकास शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुखका साथै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रिय रक्त सञ्चार सेवा निर्देशक श्री दिब्य राज पौडेल सहितका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुखले नगर अस्पतालमा निशुल्क डायलासिस सेवाको आरम्भ गर्ने गृहकार्य चलिरहेको कुरा समेत जानकारी गराउनुभयो ।
नगरबासीलाई आवश्यक पर्दा सरल, सहज र निशुल्क रगत उपलब्ध गराउन यस सम्झौताले सहजीकरण गर्ने कुरा पनि नगर प्रमुखले बताउनुभयो । यसै सम्झौता अन्तर्गत नेपाल रेडक्रससँगको सहकार्यमा नगरभरि कुनै पनि संघ, संस्था र निकायले रक्तदान कार्यक्रम गर्दा प्रति रक्तदाता रकम रु.२००।–(अक्षेरुपी दुई सय रुपैया) उपलब्ध हुनेछ।