
काठमाडौं: संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी छ। शुक्रबारदेखि सुरू भएको कार्यक्रममा शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेश सभा सचिवले आफ्नो अनुभवसहित धारणा राख्नेछन्।
दोस्रो दिनको कार्यशाला शुरू गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘आशा छ संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ,’ उनले भने ।
सभामुख घिमिरेले कानूनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिए । उनले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताए ।
२०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद् र प्रदेश सभाको अनुभव आदान प्रदान शुरू भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरू संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे ।
आइतवार संसद् भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुख समेतको उपस्थितिमा भेलाका निष्कर्षहरू सुनाउने कार्यक्रम छ ।