
चन्द्रगिरि नगरपालिका वडा नं. ७ चेकपोष्टस्थित एन. सि. सि. बैंक नजिक राजु खाजा घर सञ्चालन गरी बसेका राजु के.सि. माथि फलामको पाइपले आक्रमण गरेको अभियोगमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । श्रावण २४ गते दिउँसो १ बजेको समयमा काठमाण्डाै महानगरपालिका वडा नं. ५ का ३० वर्षीय सागर प्रकाश श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ का ३३ वर्षीय प्रमोद बोगटीले राजु के.सि. लाइ आक्रमण गरी टाउको लगायतका शरीरका अन्य बिभिन्न अङ्गमा चोट पुर्याई घाइते बनाई फरार भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी अनुसार प्रदेश ३-०२-००५ प ३६४० नं. को कालो रातो रङको २२० सि.सि.को मोटरसाइकलमा सवार भई कलंकीतिरबाट थानकोटमा आएका आरोपित श्रेष्ठ र बोगटीले राजु खाजा घरभित्र प्रवेश गरी राजु के.सि. एक्लै भएको मौका पारी मोटरसाकलको पुरानो सकरले (पाइपले) टाउको र गोडाको बिभिन्न भागमा ज्यान मार्ने उद्देश्यले प्रहार गरी शक्त घाइते बनाई फरार भएको प्रहरीले जनाएको छ ।
घाइते राजु के.सी.ले सञ्चालन गरेको खाजा पसलमा आरोपित श्रेष्ठ र बोगटीहरु घटना भएको ७ दिन पहिला खाजा खान जाँदा के.सी सँग बिबाद भएको र सोही बिबादलाई रिसिईवी बनाई राजु के.सि.लाई आक्रमण गरि योजना बनाएको खुल्न आएको हो ।
ऊक्त घटनाका सम्बन्धमा प्रकरण बरामद दशीका सामानसहित प्रकरण उल्लेखित दुबै जना उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को ज्यान मार्ने उद्योग कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-५ को म्याद थप अनुमति लिई प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।