नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु, स्थानीयबासीहरुले पनि सेवा लिन पाउने

चन्द्रागिरि ।



jibss

नेपाल एपीएफ अस्पतालमामा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको बुधबार उद्घाटन गरे ।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलाईसिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि शुरु भएको डायलाईसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपुर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

सुविधा रहेको भएतापनि आपतकालिन अवस्थामा विरामीलाई डायलाईसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र विरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यता लाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताए ।

महानिरीक्षक अर्यालले अस्पतालमा डायलाईसिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रीत परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयबासी लगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरुले पनि सेवा पाउने नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पुर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल एपीएफ अस्पतालको सेवा विस्तार कार्यमा संगठनलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने संघिय प्रादेशिक तथा स्थानीय निकायहरु साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरु लगायत सरोकारवाला निकायहरुलाई हार्दिक धन्यवाद दिए ।

धन्यवादको क्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल ६ बेड क्षमताको डायलाईसिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधाहरु समेत विस्तार गरिदै लगिने बताए ।

डायलाईसिस सेवा संचालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट ४ थान र शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १ थान डायलाईसिस मेसिन प्राप्त भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं पदाधिकारीहरु, स्वास्थ्य सेवा विभागका महानिर्देशक, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थित रहेको थियो ।