
नेपाली समाजमा सामाजिक रूपान्तरणका पक्षमा सक्रिय संस्था जेसीआई नेपाल र यथार्थपरक सामाजिक कथावस्तुमा आधारित चलचित्र निर्माण गर्दै आएको फिल्ममेकरस् प्रा. लि. बीच हालै चलचित्र ‘मोहर’ को प्रचार–प्रसारका लागि औपचारिक सहकार्य सम्पन्न भएको छ।
यो सहकार्य अन्तर्गत जेसीआई नेपालले देशभरका आफ्ना युवाहरूको सञ्जालमार्फत चलचित्र ‘मोहर’लाई प्रचारमा सहयोग गर्नेछ। नेपाली समाजमा अझै अस्तित्वमा रहेको देउकी प्रथा जस्तो सामाजिक विकृतिमाथि आधारित यो चलचित्रले प्रेम, विछोड र बदलाको कथासँगै गहिरो सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।
चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ भने ओम प्रतिक को लेखन तथा निर्देशन रहेको छ। चलचित्र साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।
यस सहकार्यबारे जेसीआई नेपालकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापा भन्छिन्:
“सामाजिक रूपान्तरणका लागि सिर्जनात्मक माध्यमहरू अत्यन्त प्रभावकारी हुन्छन्। चलचित्र ‘मोहर’ मार्फत उठान गरिएको विषयवस्तुले युवा पुस्तालाई सोच्न बाध्य बनाउनेछ। यस्तो अर्थपूर्ण प्रयाससँग सहकार्य गर्न पाउनु हामी जेसीआई नेपालका लागि गौरवको विषय हो।”
फिल्मको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको छ, जसमा एक बालिकालाई देउकी चढाइएको कथाबाट उत्पन्न भएको सामाजिक, भावनात्मक र पारिवारिक द्वन्द्वलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा लक्ष्मी गिरी, अर्जुनजंग शाही, सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। चुम्बनजंग शाही निर्माता रहेका फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, दीपेन बस्न्यात को छायांकन, भूपेन्द्र अधिकारी को सम्पादन तथा सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगी को संगीत रहेको छ।
फिल्मको शीर्षकअनुसार ‘मोहर’ को महत्व, मूल्य र त्यसले बोकेको सामाजिक सन्देश ट्रेलरमै देख्न सकिन्छ।
जेसीआई नेपाल र फिल्ममेकरस् प्रा. लि. दुवैले यस्ता किसिमका सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।




